काठमाडौं, ८ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले देशभर आंशिक प्रभाव परेको छ । बन्दकर्ताले काठमाडौंको मध्य बानेश्वरमा एउटा सरकारी गाडीमा आगजनी गरेका छन् । आगजनीबाट बा १ झ ८१८० नम्बरको गाडीमामा क्षति पुगेको छ । त्यस्तै, काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम मात्रामा गाडी चलेका छन् ।
विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ ।
नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव अन्य जिल्लाको भन्दा बढी रहेको छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु छिटपुटरुपमा चलेका छन् । बन्दकर्ताले विराटनगरमा ८ वटा गाडीमा तोडफोड गरेका छन् । प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको भ्यानलाई लक्षित गरी ढुंगामुढा प्रहार गर्ने दुई जना र अन्य दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैबीच सिन्धुलीमा एक शंकास्पद वस्तु फेला परेको जनाइएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ लागेको छ । त्यस्तै, नुवाकोटको गगटेढिकुरे सडकखण्डमा पनि शंकास्पद वस्तु फेला फेला परेको जनाइएको छ ।
त्यस्तै,पोखरामा भने बन्दको प्रभाव छ । पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गमा जोडिएको पोखरामा कुनै पनि गाडी चलेका छैनन् । रुपन्देहीमा पनि बिहान बन्दको प्रभाव देखिएको छ । बुटवलमा साना गाडीहरु चलिरहे पनि ठूला तथा लामो दुरीका सवारी साधनहरु चलेका छैनन् । बजार, पसल, स्कुल कजेलहरु सबै बन्द छन् ।
दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । बजार, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । तर अप्रिय घटना भने केही नभएको प्रहरीले जनाएको छ । सुर्खेतमा सवारी साधन फाट्टफुट्ट चले पनि मुख्य बजार र शिक्षण संस्था खुलेका छैनन् ।
पूर्वीजिल्ला भोजपुरमा विहानैदेखि बन्दको प्रभाव छ । हिले–भोजपुर सहायक राजमार्गमा यातायातका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरू पनि ठप्प छन् । त्यस्तै महोत्तरीमा पनि सामान्य प्रभाव पारेको छ ।
0 Comments