काठमाडौं, फागुन । वदलिँदो समय र सामाजिक परिवेशसंगै एसओएस वालग्राममा संरक्षण लिइराखेका वालवालिकाको मनोसंवेगात्मक भावना बुझेर हुर्काउन आवश्यक पर्ने परामर्श तालीम दिन इजरायली अन्र्तराष्ट्रिय गैरसरकारी संस्था ‘इज्राएड’ ले एसओएस वालग्राम नेपाललाई आवश्यक सहयोग गर्ने भएको छ ।
विभिन्न कारणले अभिभावकत्व गुमाएका वालवालिकालाई योग्य नागरिक बनाउन विगत ४६ वर्षदेखि कार्यरत एसओएस वालग्राम नेपालसंग इज्राएड विगत २ वर्षदेखि समन्वय गरी काम गर्दै आएको छ ।
एसओएस वालग्राम नेपाल र इज्राएडबीच सो सम्वन्धि विशेषज्ञ सेवा, आवश्यक तालीम र पाठ्यक्रम उपलब्ध गराउने विषयमा एसओएस वालग्राम नेपाल तथा इज्राएडबीच एकवर्षे अवधिको सम्झौता भएको छ ।
एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा तथा इज्राएडकी देशीय निर्देशक शिरा स्पिनोसारस गोल्डस्टेनवीच सम्झौतपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार इज्राएडले एसओएस वालग्राम नेपालका विभिन्न १० वटा वालग्राममा कार्यरत २० जना मनोसामाजिक परामर्शदातालाई इज्राएडका विशेषज्ञद्धारा आवश्यक तालीम दिनुका साथै १० जनालाई तालीम दिनको लागि योग्य प्रशिक्षक तयार गर्ने पनि एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताएका छन् । ‘यो तालीम विभिन्न मिति र समयमा गरि १ सय ८० दिनको हुनेछ’ राष्ट्रिय निर्देशक शर्माले भने ।
गत २०७२ बैशाखको महाभूकम्पपछि एसओएस वालग्राम नेपालसंग समन्वय गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको इज्राएडले गतमहिनादेखि भूकम्पप्रभावित १२ जिल्लाका बाबु या आमा गुमाएका युवाहरुलाई आत्मनिर्भर स्वावलम्वी बनाउन हालैदेखि निःशुल्क व्यवसायीक तालीम दिन शुरु गरेको छ ।
0 Comments