काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका भातृ संगठनहरुले सरकारपिच्छे फरक–फरक व्यवहार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको बिरोध गरेका छन् ।
नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, तेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल र नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले संयुक्त पत्रकार सम्मेलन गरेर राष्ट्रपतिको कदमविरुद्ध संघर्ष गर्ने उद्घोष गरेका हुन् ।
उनीहरुले पूर्ववत् सरकारले राष्ट्रिय सभामा सिफारिस गरेका तीन जना व्यक्तिलाई अस्वीकृत गरेकोमा आपत्ती जनाए । देउवा सरकारको निर्णयलाई कार्यान्वयन गर्न माग गर्दै कार्यान्वयन नभए राजनीतिक, कानुनी र सबै प्रकारका कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
संंविधानको धारा ६६ को उपधारा २ ले गरेको प्रष्ट व्यवस्था अनुरुप सरकारले पठाएको नाम स्वीकृत गर्नुपर्नेमा आफ्नो आलंकारिक भूमिकालाई वेवास्ता गर्दै सरकार पिच्छे फरक फरक व्यवहार गरेको उनीहरुको भनाइ छ ।
राष्ट्रपतिको कदम बिरुद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल प्रेस युनियनले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
0 Comments