काठमाडौं, २२ माघ । प्रदेश नम्बर १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभा बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रदेश नम्बर ४ को बैठक पर्यटकीय नगरी पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजे बस्दैछ । प्रदेश नम्बर ४ का ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट गरी ६० जना सांसदहरू चुनिएका छन् ।
बैठकमा संसदीय परम्पराअनुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्नेलगायतमा विषयमा सर्वदलीय सहमति गरिएको छ ।
प्रत्येक ठूला दलबाट तीन÷तीन जना (कम्तीमा एक जना महिलासहित) र साना दलबाट एक÷एक जना गरी ११ जनाले मन्तव्य दिने कार्यतालिका बनाइएको छ । यस अघि प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकको हिजो पूर्वाभ्यास समेत गरिएको थियो । यसैबीच, आजै बस्ने प्रदेश नम्बर १ को प्रदेशसभाको बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।
विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा आज दिउँसो १ बजेदेखि बैठक बस्नेछ । प्रदेश नम्बर १ को प्रदेशसभाको पहिलो बैठक भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयका सहसचिव धु्रव घिमिरेले जानकारी दिनुभयो ।
0 Comments