Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २० फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसदीय दलको नेतामा उम्मेदवार बन्न इच्छुकले बेलुकी ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । 
चुनाव सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ । सभापति शेरबहादुर देउवाले सर्वसम्मत रुपमा संसदीय दलको नेतामा दोहोरिने इच्छा देखाउनु भएको छ । तर रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ । 

सभापति देउवाले आफूलाई दलको नेतामा सर्वसम्मत बनाए उपनेता पौडेल पक्षलाई दिन तयार रहेको भन्दै छलफल अघि बढाउनु भएको छ ।  निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

काँग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ । पार्टी महामन्त्री डा शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गर्नुभएको दिवा खाना कार्यक्रममा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने बताउनुभएको थियो ।

काँग्रेसमा यतिखेर दलको नेताका लागि सभापति देउवाले संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उम्मेदवारी दिने चर्चा शुरु भएको छ । यद्यपि पार्टीका मध्यमार्गी नेताहरु भने निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् ।

महामन्त्री डा कोइरालाले संसदीय दलको नेता सर्वसम्मत हुनुपर्ने धारणा व्यक्त गर्दै आउनुभएको छ र उहाँले सर्वसम्मत भएमात्र आफू दलको नेताका लागि अघि बढ्ने स्पष्ट पार्नुभयो । काँग्रेस वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएको थियो ।

जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले संसदीय दलको नेताको निर्वाचन भएमा सभापति देउवा सहजै निर्वाचित हुने अनुमान गरिएको छ । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने समिति सदस्य सचिव केशव रिजालले  जानकारी दिनुभयो ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । फागुन २१ गते संसदीय दलको नेताका लागि निर्वाचन हुने र त्यसपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताउनुभयो ।

राष्ट्रियसभामा भने दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा छ । त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply