काठमाडौं, बैशाख । नुवाकोटको ककनीस्थित नेपाल स्काउटको अन्र्तराष्ट्रिय ज्याम्बोरीस्थलमा आगामी १६ देखि २१ जेठसम्म आयोजना हुन लागेको स्काउटहरुको वृहत भेला ‘तेस्रो नेपाल स्काउट ज्याम्बोरी’को लागि नेपाल सरकारले २ करोड रुपैयाँ प्रदान गरेको छ । युवा तथा खेलकूद मन्त्रालयले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयलाई सो रकम उपलब्ध गराएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले बताए ।
नेपालका ७ प्रदेशका ७० भन्दा बढी जिल्लाका करीव ५ हजार स्काउट सहभागी हुने५ रात ६ दिने सो ज्याम्बोरीको लागि २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नपुग रकम नेपाल स्काउटले जुटाउने बताइएको छ । विभागीय मन्त्रालयको हैसियतमा सो मन्त्रालयले नेपाल स्काउटलाई ज्याम्बोरीका लागि २ करोड रुपैयाँ प्रदान गरेको हो । युवा तथा खेलकूदमन्त्री जगत बहादुर बिश्वकर्मा नेपाल स्काउटको प्रमुख स्काउट रहने व्यवस्था छ ।
नेपालमा २०४३ साल १६ देखि २२ चैतसम्म किर्तिपुर, काठमाडौंमा पहिलो र २०६९ साल २७ चैतदेखि २०७० साल २बैशाखसम्म चितवनको टिकौलीमा दोस्रो ‘नेपाल स्काउट ज्याम्बोरी’ सञ्चालन भएको थियो ।
तेस्रो ज्याम्बोरीमा नेपालका स्काउटहरुको अतिरिक्त भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंकाका साथै एशिया प्रशान्त क्षेत्र (एपिआर) का सदस्य मुलुकका स्काउट, (एपिआर) संगठनका पदाधिकारीका साथै विश्व स्काउट संगठनका केन्द्रीय कोषाध्यक्ष सहित अमेरिकासमेतका स्काउटहरुको सहभागिता रहने संयोजक कौशिकले बताए ।
तेस्रो ज्याम्बोरी सफल पार्न नेपाल स्काउटका प्रमुख संरक्षक प्रधानमन्त्री केपि ओलीको अध्यक्षतामा उच्चस्तरीय ज्याम्बोरी सल्लहकार समिति, प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री जगतबहादुर बिश्वकर्माको अध्यक्षतामा मुल समारोह समिति, तदर्थ समितिका संयोजक चन्दन कौशिकको अध्यक्षतामा १५ सदस्यीय व्यवस्थापन समिति र तदर्थ समितिका सदस्य गौतम अधिकारीको संयोजकत्वमा ज्याम्बोरी सचिवालय समिति गठन गरिएको छ । यसका साथै अन्य १७ वटा उपसमिति गठन गरिएको छ ।
प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री बिश्वकर्मा तथा सचिव मोहनकृष्ण सापकोटाले तेस्रो राष्ट्रिय ज्याम्बोरीस्थलको अवलोकन गरि आवश्यक निर्देशन दिएका थिए ।
0 Comments