Ticker

6/recent/ticker-posts

घोडा-खच्चडको स्वास्थ्यप्रति इँटाभट्टा सञ्चालक नै चिन्तित

बलराम प्यासी
काठमाडौं, जेठ ।  पछिल्लो समयमा मुलुकका विभिन्न जिल्लामा सञ्चालित इँटाभट्टामा काँचो या पोलेको इँटा बोक्न  प्रयोग गरिने गरिएका घोडा, खच्चड र गधाको स्वास्थ्यप्रति स्वयम इँटाभट्टा व्यवसायी नै चिन्तित देखिन थालेका छन् । उनीहरु भन्न थालेका छन ‘अब स्वस्थ र निरोगी घोडा, खच्चड र गधाले मात्रै इँटा ढुवानी गर्न पाउँछ, नत्र सम्वन्धित ठेकेदारलाई कारवाही गरिन्छ भनेर ।’

इँटाभट्टा सञ्चालकहरु आफ्नो इँटाभट्टा ‘अश्वमैत्री’ होस् भन्ने चाहना राख्छन । काँचो इँटा बोकेर इँटा पोल्ने चिम्नीसम्म होस् या पोलेर तयार भएको पाको इँटालाई गोदामसम्म पुर्याउन विगत लामो समयदेखि गधा, घोडा र खच्चडको प्रयोग गरिने गरेको ओम श्री इँटा उद्योग, फर्सिडोल ललितपुरका सञ्चालक तीर्थलाल महर्जन बताउँछन । ‘तर पछिल्लो समय यस्तो कार्य क्रमशः घटदैछ’ उनले भने । 

उता दक्षिण वाराही इँटा उद्योग दधिकोट र ओम श्री मछिन्द्रनाथ इँटा उद्योग सतुंगलका सञ्चालक हिराकाजी महर्जन भने ठेकेदारले घोडा÷खच्चडलाई घाइते हुँदा र विरामी पर्दा पनि ठेकेदारले काममा लगाउने गरेकोेले ४ वर्षदेखि आफ्नो दुवै इँटाभट्टामा त्यस्ता खच्चड र घोडा निषेध गरिएको बताउँछन । ‘यसको सट्टा हामीले ट्रयाक्टर र मजदूरबाट काँचो या पाको इँटा ढुवानी गरिरहेका छौं,’ उनले भने । 

‘पशुहरु पनि मानिस सरहनै हुन, उनीहरु विरामी पर्छन, थाक्छन, धेरै काम गर्न सक्दैनन भन्ने कुरा बुझेर नै हामीले आफ्नो इँटाभट्टामा घोडा, खच्चडलाई इँटा ढुवानी गर्न निषेध गरिएको महर्जनको दावी छ । 

पछिल्लो समयमा इँटा ढुवानी गर्न इँटाभट्टामा हरेक सिजनमा ल्याइने गरिएका गधा, घोडा र खच्चडको स्वास्थ्यप्रति ठेकेदारहरुले चासो नदिएको पाइएकोले सम्वन्धित इँटाभट्टा सञ्चालकहरुले एनिमल नेपाल र द डंकी स्यांग्चुअरी संस्थासंग मिलेर काम गर्न थालेका छन् ।

यी तीनैवटा संस्था मिलेर सम्वन्धित इँटाभट्टामा ‘अश्व कल्याणकारी कार्यक्रम’ सञ्चालन गरेका हुन । गधा, घोडा र खच्चड अश्व प्रजातिमा पर्ने भएकोले पछिल्लो समय इँटाभट्टा सञ्चालक तथा सरकार पनि त्यस्ता पशुको स्वास्थ्य र अधिकारप्रति बढी संवेदनशिल भएको पाइएको हो । 

इँटाभट्टामा ढुवानीका लागि प्रयोग गरिएका गधा, घोडा र खच्चडको स्वास्थ्यप्रति संवेदनशील भई उनीहरुले पशु कल्याणकारी निर्देशिका २०७३ लाई आधार मानेर त्यस्ता गधा, घोडा र खच्चडलाई काममा लगाउन सम्वन्धित ठेकेदारलाई निर्देशन नै जारी गरेका छन । 

पशु कल्याणकारी निर्देशिका २०७३ अनुसार त्यस्ता जनावरको तौलको ४० प्रतिशतभन्दा बढीको भारी बोकाउन नपाइने, दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने, बस्ने ठाउँ सफा, स्वस्थ र उज्यालो छिर्ने हुनुपर्ने, चर्काे घाम र ठिहिर्याउने चिसोमा काममा लगाउन नपाइने, सफा र ताजा मात्रै खानेकुरा खुवाउनुपर्ने, विरामी पर्दा तत्काल उपचार र नियमित खोप लगाउनुपर्ने, सरुवा रोगबाट बचाउनुपर्ने र आकस्मिक प्राथमिक उपचारको सामाग्री तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ । 

नेपालगञ्ज तथा भारतका विभिन्न ठाउँबाट इँटा ढुवानीकै लागि भनेर त्यस्ता गधा, घोडा र खच्चड राजधानीलगायत इँटाभट्टा सञ्चालित विभिन्न जिल्लामा भित्र्याइने गरिएको छ । घोडा या खच्चडले एकहजार इँटा ढुवानी गरेवापत सम्वन्धित ठेकेदार या पालकले ३ सय ५० देखि ४ सयरुपैयाँसम्म इँटाभट्टा सञ्चालकसंग ज्याला लिने गरेको छ ।


Post a Comment

0 Comments