काठमाडौं, बैशाख । मुलुककै जेठो वीर अस्पतालका सफाई कर्मचारीहरुले अस्पताल परिसर सफा नगरेको गुनासो बढ्दै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्याल आइतबार विहानै अस्पताल सफाईमा पुगीन । अस्पतालमा सफाइको लागि भनेर १५० जना कर्मचारी कार्यरत छन ।
अस्पतालजस्तो अति नै संवेदनशिल निकायलाई सफा गर्न उनले १ महिने अभियाननै शुरु गर्नुपर्यो । वीर अस्पताल सफाईको उद्घाटन गर्दै राज्यमन्त्री अर्यालले भनीन ‘सरकारी अस्पताल सबैको साझा सम्पत्ति हो भन्ने सोचेर अस्पताल सफा राख्नु सबैको कर्तव्य हो ।’
केही महिनाअघि स्थापनाको १ सय २८ वर्षगाँठ मनाइसकेको मुलुककै जेठो वीर अस्पताल सफा गर्नका लागि राज्यमन्त्री आफैं लाग्दा पनि अस्पतालको कर्मचारी प्रशासनका साथै त्यहाँ कार्यरत १५० जना सफाई कर्मचारीमा लाज र ग्लानी महसुस भएको कत्ति पनि देखिएन ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकूलपति डा. गणेमान गुरुंगले अस्पतालमा धेरै मानिस उपचार गर्न आउने भएकोले बढी फोहोर भएको जीकिर गर्दै सफाइमा चुनौति देखिएको बताए ।
पछिल्लो समय अस्पतालमा उपचारमा आएका सबै विरामीले सहज उपचार पाइरहेको अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले बताए । नेपाल सरकारका सरसफाई दूत एवम् हाँस्य कलाकार सितारमा कट्टेल धुर्मसुले मुलुककै जेठो वीर अस्पताल सफा भएपछि अन्यत्र रहेका सरकारी अस्पताल पनि सफा हुने दावी गरे । ‘खेम्स क्लिनिंग’संग मिलेर वीर अस्पतालले एकमहिने सफाई अभियान शुरु गरेको बताइएको छ ।
0 Comments