काठमाडौं, जेठ । असार १ गतेका लागि प्रेममय चलचित्र ‘ए सोल्टीनी’ले प्रदर्शनको मिति घोषणा भएको छ । निर्माता दीलकुमार तामाङ, प्रस्तुतकर्ता पूर्णी तामाङ, निर्देशक निमा तामाङले वितरण कम्पनी आर.आर. फिल्मस् प्रालिसँग उपत्यका बाहिर र उपत्यकाको प्रदर्शनको जिम्मा दिई चलचित्र रिलिजको घोषणा गरेका हुन् । चलचित्र ए सोल्टीनीलाई वितरक रोहित कट्टेल, रत्न श्रेष्ठले अल नेपाल प्रदर्शनको जिम्मेवारी लिएका छन् । यसभन्दा अगाडि विभिन्न तामाङ चलचित्र निर्माण गरी तामाङ जातीहरुको विशेष मन जितेका निर्माता दीलकुमारले युवा निर्देशक निमालाई लिएर भावनात्मक प्रेममय तथा सांगितिक चलचित्र निर्माण गरेको बताएका छन् ।
संगीत सुनलाल वाइवा, विनय केटु द्वन्द्व राज गोले, छायांकन विश्वास भण्डारी, नृत्य अभि लामाले गरेको ए सोल्टीनी बलिउड अभिनेता सलमानको नयाँ चलचित्र रेस–३ सँग भिड्ने भएको छ । सलमानखानलाई नेपाली बजारमा टक्कर दिन सविन श्रेष्ठ, गंगा रानामगर, ज्ञानबहादुर जिम्बा, अर्जुन गुरुङ, जयनन्द लामा, मञ्जु लामा, प्रेम लोप्चन, शंकरबहादुर थिङ, निर्जल लामा लगायतका कलाकार उत्रिने छन् । लभ स्टोरी र हास्य कमेडीले हलमा आएका दर्शकलाई निराश नबनाउने निर्देशका निमाले दाबी गरे ।
साथीभाइको मित्रता, एकले अर्कोलाई हेर्ने दृष्टिकोण, माया–प्रेम र सद्भावको विषयमा केन्द्रित बनाइएको ए सोल्टीनीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षले बताएको छ । ५० लाख भन्दा बढी लगानीमा निर्माण गरिएको यो चलचित्रलाई वल्र्डकपले प्रभाव नपार्ने वितरक रन्त श्रेष्ठले बताए । उक्त समयमा विश्वकपका लिग चरणका खेलहरु आयोजना हुने भएकाले असारका पहिलो हप्ताका चलचित्रलाई कुनै असर नपर्ने अर्का वितरक रोहित कट्टेलले बताए । चलचित्रका प्रस्तुतकर्ता पूर्णी लामाले चलचित्रको डिजिटल राइट हाइलाइटस् लाई राम्रै दाममा विक्री गरिसकेको तथा राजधानी भित्र र बाहिर पनि चलचित्रले राम्रै व्यापार गर्ने अपेक्षा लिएकी छिन् ।
त्यसो त चलचित्र प्रदर्शनमा आउने मिति नजिकिए सँगै निर्माण पक्षलाई भ्याइ नभ्याइको दौडधूप हुन्छ । अहिले ए सोल्टीनी टोलीलाई पनि यस्तै अवस्था आएको छ । चलचित्र टोली प्रचार प्रसारमा खटिन थालेको छ । निर्माता तामाङले लामो समयको चलचित्रको अनुभवले यो चलचित्र पनि निकै नै राम्रो बनाएको दाबी गरे । यसभन्दा अगाडि सुपर हिट चलचित्र सोल्टीनी निर्माण भइसकेको छ । सोल्टीनी चलचित्रमा अभिनेत्री सोनी रौनियार, लोकन्द्र कार्की, सरोज खनाल लगायतको अभिनय रहेको थियो । तर, अहिको नेपाली चलचित्र बजारमा चल्तीका कलाकार सविन श्रेष्ठ, अर्जुन गुरुङ लगायतको अभिनय छ ।
0 Comments