बलराम प्यासी
काठमाडौं, बैशाख । सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रका निर्देशक डा.आरपि विच्छाले सार्कको बजेटमा आफ्नी पत्नि र छोरालाई आफुसंगै विदेश घुमाउन थालेपछि केन्द्रका कर्मचारीहरुले आपत्ति जनाएका छन भने यसबारे सार्क सचिवालय र परराष्ट्र मन्त्रालयले चासो राखेको छ ।
पछिल्लो समय गत २३ देखि २७ अप्रिल श्रीलंकामा भएको ‘केटाकेटीमा लाग्ने क्षयरोगको पहिचान तथा उपचार सम्वन्धि सार्क क्षेत्रीय तालीम’ (सार्क रिजनल ट्रेनिंग अन डाइग्नोशिस एण्ड ट्रिटमेण्ट अफ पेय्डिट्रिक टिबि) मा निर्देशक डा.विच्छाले एमबिबिएस पढ्दै गरेका आफ्ना छोरा नवनित विच्छालाई ‘रिसर्च अफिसर’ बनाएर आफुसंगै लगेका छन् ।
निर्देशकका छोरा नवनित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिएिस अन्तिम वर्षमा अध्यनरत विद्यार्थी हुन । उनलाई सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रको बजेटमा दुइतर्फि हवाई टिकट सहित ७ दिनको दैनिक भ्रमण भत्ता दिएर श्रीलंका लगिएको स्रोतको दावी छ ।
सोही तालीममा डा.विच्छाकी श्रीमती पनि गएकी छन, तर उनको खर्च कसले वेहोरेको भने अलिहेसम्म खुलेको छैन । यसअघि डा.विच्छाकी श्रीमतीलाई केन्द्रकै बजेटमा भुटानमा आयोजना गरिएको ‘सार्क क्षेत्रीय खुला सिमामा हुने क्षयरोग विषयक कार्यक्रम व्यवस्थापकहरुको वैठक’मा सहभागी गराईएको थियो ।
निर्देशककी पत्नि र छोरालाई केन्द्रको बजेटमा भुटान र श्रीलंकामा गैरकानूनीरुपमा घुमाउन केन्द्रका प्रशासन शाखाका दुईजना कर्मचारीको मिलोमतो रहेको र त्यससम्वन्धि कागजात गोप्य राखेको स्रोतले दावी गरेको छ ।
पत्निलाई भुटानमा लैजाने बेलामा निर्देशक डा.विच्छाले आफुसंगै भुटान गएका केन्द्रका प्रशासन अधिकृत मिनाकुमारी ढकाल र आफ्नो हवाई टिकटको वीलमा २०।२० हजार रुपैयाँ थप्न लगाएर पत्निको लागि टिकटको व्यवस्था मिलाएका थिए । छोरा नबनितलाई भने केन्द्रकै बजेटमा ‘रिसर्च अफिसर’ बनाएर श्रीलंकामा लगेका थिए ।
केन्द्रका तत्कालिन निर्देशक डा.काशिकान्त झासमेत ३ जनाले सन् २००८ मा लेखेको कार्यपत्र (आर्टिकल,एब्स्ट्रयाक्ट) मा निर्देशक डा.विच्छा र छोरा डा.नवनितको नाम थपेर हुवहु कार्यपत्र बनाई निर्देशकले छोरा नवनितलाई नक्कली ‘रिसर्च अफिसर’ बनाएर श्रीलंका लगेको हो । श्रीलंकाको कार्यक्रममा निर्देशक डा. विच्छा, छोरा नवनित र केन्द्रका प्रशासन अधिकृत कृष्ण बस्नेत सहभागी थिए ।
भुटानमा सम्पन्न सार्क क्षेत्रीय वैठकमा सहभागी भएकी डा.विच्छा पत्निको तस्वीर केन्द्रद्वारा प्रकाशित नयाँ वर्ष २०१८ को क्यालेन्डरमा छापिएपछि सार्क सचिवालयका साथै परराष्ट्रमन्त्रालयले समेत चासो राखेको छ ।
पछिल्लो समय केन्द्रको महत्वपूर्ण र गोप्य आन्तरिक वैठकमा निर्देशक डा. विच्छाले आफ्ना छोरा नवनितलाई केन्द्रका अधिकृतहरुसंगै राख्ने गरेकोप्रति पनि सार्क सचिवालयले आपत्ति जनाएको छ ।
उनी वालस्वास्थ्य महाशाखामा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तत्मालिन स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले कारवाहीस्वरुप स्वास्थ्य मन्त्रालयमा सरुवा गरेका थिए ।
तर स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक चलखेल गर्दै गतवर्ष ‘क्षयरोग विशेषज्ञ’ नियुक्त गर्नुपर्ने पदमा कारवाहीस्वरुपमा मन्त्रालय तानिएका विवादास्पद ‘वालरोग विशेषज्ञ’ डा.विच्छालाई सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रको निर्देशकमा नियुक्त गरेका थिए ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकमा क्षयरोग तथा एचआइभि एड्स रोक रोकथाम, उपचारमा एकरुपता, अध्ययन तथा अनुसन्धान प्रयोगशाला व्यवस्थापन तथा सार्कका ८ वटै मुलुकका विशेषज्ञवीच अनुभव आदान प्रदान गर्ने उद्धेश्यले सन् १९९१ मा सो केन्द्र स्थापना गरिएको हो ।
0 Comments