Ticker

6/recent/ticker-posts

विश्वको मन जितिन् क्रोएसियाली राष्ट्रपतिले

एजेन्सी– हालै रुसमा सम्पन्न फाइनल खेलमा फ्रान्स सँग क्रोएसिया पराजित भएपनि  अहिले सबैको ध्यान क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकतर्फ केन्द्रित भएको छ ।

मस्कोमा आयोजित विश्वकपको अन्तिम समारोहमा सहभागी भएकी ग्राबरले अहिले सबैको मन जितेर चारैतिरबाट प्रशंसा पाइरहेकी छन् । सम्पूर्ण खेलभरि उत्साहपूर्वक आफ्नो देशको समर्थन गरेकी ग्राबरले पानी परिरहेको अवस्थामासमेत भिजेरै खेलाडीहरुको हौसला बढाएर सबैलाई अचम्मित पारेकी हुन् । 

उनको हौसलाले विश्वकपकै सबैभन्दा स्मरणीय क्षण भएको अन्तर्राष्ट्रिय संचार एजेन्सी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उल्लेख गरेका छन् । राजनीति र हारजितलाई पर राख्दै उनले हर्षका साथ विपरित टिमका खेलाडीप्रति समेत न्यानो व्यवहार देखाएकी हुन् । 

यसैकारणले चर्चामा आएकी राष्ट्रपति ग्राबरले विश्वको मन छुन सफल भइ अन्तिम समयमा खेलको केन्द्रबिन्दु बनेकी हुन् । उनले क्रोएसियाको बहादुरीपूर्ण प्रस्तुतिप्रति गर्व र खुसी व्यक्त गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पानीमा भिज्नु परेपनि आफ्ना खेलाडीहरुको हौसला बढाउन उनी निरन्तर हाँसिरहेकी थिइन् । यसको केही समयपछि मात्र उनलाई छाता ओडाइयो । उनको यस्तो व्यवहारले फुटबल फ्यानहरुलाई र विश्वकपको माहोललाई नै भावनात्मक बनाइदिएको धेरैले प्रतिक्रिया दिएका हुन् । 

५० वर्षीया ग्राबर क्रोएसियाकी चौँथो राष्ट्रपति हुन् भने पूर्वी युरोपमा राष्ट्रपतिका रुपमा नियुक्त हुने पहिलो महिला पनि हुन् । यसका साथै ४६ वर्षको उमेरमा उनी देशकी सबैभन्दा कान्छी राष्ट्रपति बनेकी हुन् । २०१७ मा फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक शक्तिशाली महिलाको सूचीमा भने उनी ३९ औँ स्थानमा पर्न सफल भएकी थिइन् । 


Post a Comment

0 Comments