Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


साहित्यमा अभिरुचि राख्नेहरूका लागि कृष्ण धरावासीको नाम नौलो होइन । चर्चित उपन्यास ‘राधा’ का लागि उनले मदन पुरस्कार पाएका थिए । धरावासीका झोला, राधा, शरणार्थी, आधा बाटो, बालक हराएको सूचना, आमा लगायतका कृति चर्चित छन् । 
साहित्य समालोचना, निबन्ध लेखन, कथा, कविता लगायतका विधामा धरावासीले कलम चलाउँदै आएका छन् । आफ्ना सृजनामा विशेषगरी नारी आवाज उठान गर्न रुचाउने धरावासीको कथा ‘झोला’ माथि चलचित्र समेत बनेको छ ।

उनै साहित्यकार धरावासी यतिबेला जीवन र दर्शनसँग सम्बन्धित कृति ‘लीलाबोध’ लिएर आएका छन् । प्रस्तुत छ,  धरावासीसँगको कुराकानीको मुख्य अंश :

‘लीलाबोध’ कुन पक्षसँग नजिक छ ? पाठकलाई छोटकरीमा बताइदिनुस् न ।
यो लीलालेखनको साहित्यिक सिद्धान्त हो । २०३४ सालबाट नेपाली साहित्यमा प्रयोग भएको लेखनको एउटा रूप हो । साहित्यकार इन्द्रबहादुर राईले लीलालेखनको शुरुवात गर्नुभएको थियो । लीलालेखनसम्बन्धी लेख तथा अन्तर्वार्ता आएपनि यस्तो खालको पुस्तक भने नेपाली साहित्यमा थिएन । हुन त मैले आफंै २०५३ मा समालोचानत्मक कृति ‘लीलालेखन’ लेखेको थिएँ । त्यतिबेला कथाकार इन्द्रबहादुर राईका कथामाथि मैले समालोचना गरेको थिएँ । सैद्धान्तिक विश्लेषणका दृष्टिले ‘लीलाबोध’ लाई लीलालेखनको समग्र पुस्तक बनाउन खोजेको छु । 

लीलालेखन कस्तो विधा हो ? पाठकले तपार्इंको पुस्तकबाट के कुरा पाउँछन् ?

सरल भाषामा भन्नुपर्दा लीलालेखनलाई प्राविधिक पक्षहरूको व्याख्या भन्न सकिन्छ । लीलाको चिन्तन एकदमै दार्शनिक छ । यसले जीवनशैलीसँग पनि सम्बन्ध राख्छ । इन्द्रबहादुर राईका कथा बुझिन्नन् भन्ने पाठकको गुनासो हुन्छ । पाठकले यो कृतिमार्फत लीलालेखनका आयाम बुझ्नुहुनेछ । लीलालेखनको दर्शन र शिल्प पक्षलाई सरल भाषामा प्रस्तुत गर्न खोजेको छु । अर्थात्, पुस्तकमा लीलालेखन साहित्यको इतिहास र जीवनदर्शन समेटिएको छ ।

तपाईंको कथा ‘झोला’ माथि त चलचित्र नै बन्यो । कसरी तयार भएको थियो यो कथा?

काठमाडौंबाट दिवाबसमा घर (पाँचथर) जाँदा एक्लै भइयो । बाटोमा एक्लै बोल्दै हिँड्न पनि नमिल्ने । एक्लै हुँदा बाटोभरि कथाको प्लट सोचेको थिएँ । त्यो कथालाई घर पुगेपछि एक बसाईंमा लेखेर सकें ।

तपार्इंको बुझाइमा सर्जकसँग हुनैपर्ने गुण के रहेछ ?
पहिलो कुरा त अध्ययन नै हुनुपर्छ । आफ्नो मात्र ज्ञान त मान्छेसँग कति नै हुन्छ र ? अध्ययन र निरन्तरता लेखनका लागि महत्त्वपूर्ण कुरा हुन् । अरूका कृति पढेर ती कथामा आफ्ना पनि अनुभवको मिश्रण गरेर कृति लेख्ने त हो ।

तपाईंको बुझाइमा नेपाली साहित्य कुन मोडमा हिँडिरहेको छ ?
साहित्य पनि एउटा बजार हो । अहिले सबै चिज व्यापारको हिसाबले जान थालेका छन् । पछिल्लो समयमा साहित्य पनि व्यावसायिक बन्दै गएको छ । लेखकले लेखेरै जीविका चलाउने बजार बनेको छ तर बजारमा सबै एकैखालका उपभोक्ता हुँदैनन् । अहिले बजारमा ‘उपभोक्तावादी’ लेखन हावी भएको छ । अनि धेरैजसो लेखक फास्टफूड खालका लेख्ने गरेका छन् । यस्ता खालका साहित्यको बजार पनि पाठकका हिसाबले राम्रो छ ।

तपाईंको लेखनको शुरुवाती समयका आधारमा नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ ?

अहिलेको बजार धेरै राम्रो छ । सबै खालका पाठकका लागि बजारमा कृति प्रकाशन भएका छन् । नयाँ पुस्तामा लेख्ने र पढ्ने संस्कृतिको विकास भएको छ । बाल साहित्य, युवा साहित्य, प्रौढ, सजिला र गाह्रा सबै प्रकार नेपाली साहित्यमा एकसाथ चलिरहेका छन् । यसले साहित्यको विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

नयाँ पुस्ताका लेखकमा समस्या के देख्नुभएको छ ?

कहिलेकाहीँ एउटा पुस्तक राम्रो सृजना गर्दैमा केही लेखक आफूलाई उच्चस्तरीय ठान्ने गर्छन् । यसको प्रभावले सर्जकमा ‘अज्ञान र अहंकार’ बढ्दै जान्छ । यस्तो प्रवृत्तिले लेखकको अन्य कृति कमजोर हुन सक्छ । स्तरीय लेखनको निरन्तरता नहुन पनि सक्छ ।

तपार्इंको आफ्नै कृतिमध्येमा सबैभन्दा मन पर्ने चाहिँ कुन हो ?

पाठकले त फरक कृति मन परेको सुनाउनुहुन्छ । मेरो आफ्नो अनुभवमा भने ‘शरणार्थी’ उपन्यास आफंैलाई बढी मन पर्छ ।

साहित्यले समाजसँग सरोकार राखेको हुन्छ । साहित्यको माध्यमबाट पनि समाज परिवर्तनको आशा गरिन्छ पनि भनिन्छ । तपाईंका कृतिले समाज परिवर्तनमा योगदान गरेका छन् भन्ने लाग्छ ?

मलाई त्यस्तो लाग्दैन । यो कुरा सर्जकलाई थाहा हुने कुरा पनि होइन । केही पाठकले मेरा कृतिले व्यक्तिगत जीवनमा प्रभाव पारेको बताउनुहुन्छ । खासगरी महिलाहरू मेरो पुस्तक पढेर उत्साहित भएको अनि चुनौती स्वीकार गर्न र निराशाबाट मुक्त हुन सकेको बताउँछन् । पाठकले एउटै कृति पढेर फरक–फरक धारणा बनाउनुहुन्छ, तर त्यसलाई कसरी बुझ्नुहुन्छ भन्ने हामीले बुझेका हुँदैनौं ।

‘लीलाबोध’ पाठकले किन पढ्ने ? 

मेरा कथा, निबन्ध, कविता, उपन्यास र समालोचना आदि पढ्नुभएका पाठकले यो दर्शनसम्बन्धी कृति पढ्नुहोला भन्ने अपेक्षा छ । यो विचार हो । बिक्रीका हिसाबले यो उपन्यासहरूजस्तो त नजाला तर यो कृति नेपाली साहित्यको स्थापित सिद्धान्तको एउटा पुनव्र्याख्या हो । जीवन र दर्शकको एउटा आयाम हो यो । पाठकले यसलाई पढेर बौद्धिक आनन्द प्राप्त गर्नुहुनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply