अष्ट्रेलिया — अष्ट्रेलियाका किसानहरुले व्यवसायिक रुपमा उत्पादन गरेका स्ट्रबेरीमा लुगा सिउने सियो भेटिएपछि बजारमा बिक्रि घट्दा किसानहरु स्ट्रबेरी नष्ट गर्न बाध्य बनेका छन्।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र विपक्षी दलका नेता बिल सर्टन्ले सर्वसाधारणलाई स्ट्रबेरी खरिद गरेर किसानलाई सहयोग गर्न आग्रह गरेका छन्।
करिब दुई साताअघि क्यून्सल्याण्डबाट देखिएको यो समस्या अहिलेसम्म यो समस्या अष्ट्रेलियाका ६ राज्यमा देखिएको छ। बजारबाट खरिद गरिएको स्ट्रबेरीमा सियो भेटिए पछि अहिले प्रहरी अनुसन्धानमा लागिपरेको छ। किसानहरु अत्यन्तै पीडित भएको र उत्पादन गरिएको स्ट्रबेरीले बजार नपाएपछि क्यून्सल्याण्ड सरकारले १ मिलियन डलर र केन्द्रीय सरकारले १ मिलियन डलर सहयोगको घोषणा गरिसकेका छन्। यसैगरी स्ट्रबेरीमा सियो राख्ने दोषीको बारेमा जानकारी दिनेलाई १ लाख डलर पुरस्कारको घोषणा समेत गरिएको छ।
अष्ट्रेलियामा पहिलोपटक देखिएको यो समस्यालाई यहाँका किसानहरुले ‘व्यवसायिक आतंकवाद’ को संज्ञा दिएका छन्। क्यून्सल्याण्ड राज्यको स्ट्रबेरी उत्पादन गर्ने किसानहरुको संस्थाका उपाध्यक्ष एड्रियन स्क्ल्जले यस कार्यलाई व्यवसायिक आतंकवादको संज्ञा दिदै आफूहरुलाई घुँडा टेकाउने प्रयास भएको बताएका छन्। अर्कोतिर प्रधानमन्त्री मरिसनले समस्या चर्किदै गएपछि खानेकुराहरुमा हेलचेक्रयाईं गर्नेलाई १५ वर्षसम्मको जेल सजाय हुने कानुन बनाउने घोषणा गरेका छन्। उनले आउँदो साता संसद्बाट पास गरेर कानुनलाई ब्यवहारमा लागु गर्ने बताएका छन्।
0 Comments