हाम्राे बारेमा

क्यान्सर जितेकाहरू भन्छन् उपचार सम्भव छ, समयमै उपचार गरे क्यान्सर जटिल हुँदै हाेइन

काठमाडौं । यतीखेर ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसंगको लडाँई जितेका २२ महिला र ५ पुरुषहरु ¥याम्प शोको तयारीमा जुटेका छन् ।
उनीहरुको अनुहारमा गजबको चमक देखिन्छ । साँच्चै लडाँई जितेर आएको वीर योद्धा जस्तो । उनीहरुको हाउभाउ, स्वस्थ र जोशिलो शरीर, दृढ आत्मविश्वास, उज्यालो अनुहार देख्दा कसैले पनि उनीहरुलाई यसअघि क्यान्सर रोग लागेको थियो भनेर विश्वासै गर्न सक्दैन ।

यही पुस २७ गते अर्थात ११ जनवरीमा नेपालमै पहिलोपल्ट आयोजना हुन लागेको सन्देशमूलक ‘सुदिप्त क्यान्सर सर्भाइभर ¥याम्प शो’ कार्यक्रमको लागि उनीहरु कोरियोग्राफर डली गुरुंङसँग क्याटवाकमा कसरी उत्रिने भनेर प्रशिक्षण लिइरहेका छन् । त्यसो त गुरुङ पनि क्यान्सरलाई जितेकी एक दृढ, साहसी र सफल व्यवसायी मात्रै नभई नेपालकै पहिलो मोडेल पनि हुन् । मुहारमा चमक र दृढ विश्वास लिएर लिएर ‘¥याम्प वाक’ गरिराखेका २७ जनालाई एकपछि अर्काे गर्दै हलको अगाडिबाट ‘¥याम्प शो’ की कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठ अवलोकन गर्दैछिन् । 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरको सहयोग तथा नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा पुस २७ गते आयोजना गर्न लागिएको सन्देशमूलक ¥याम्प शो क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकाहरुको सहभागितामा हुन लागेको हो । मानिस सडक दुर्घटनादेखि विभिन्न रोग लागेर अकालमै मरिराखेका छन । झाडापखाला, निमोनिया, जण्डीसदेखि हेपाटाइटिस, एचआइभिदेखि एड्स, उच्च रक्तचापदेखि हृदयाघात, डायबिटिजदेखि मिर्गाैला खराब भएर मरिराखेका छन । तैपनि सबैले क्यान्सरमात्रै ठुलो रोग हो, यो रोग लागेपछि मानिस बाँच्दैन, उपचारको लागि घरबार नै सिद्धिन्छ भन्ने खालको भ्रम समाजमा व्याप्त छ ।
 

यस्तो भ्रम र गलत धारणाको अन्त्य गर्न नेपालमै पहिलोपटक क्यान्सर जितेकाहरुलाई सहभागी गराई सन्देशमूलक ¥याम्प शो आयोजना गर्न लागिएको आयोजक नेपाल क्यान्सर सर्भाईभर ग्रुपकी सदस्य तथा कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन् । ‘समयमै उपचार गर्नसके क्यान्सर भनेको ग्यास्ट्रिक, उच्च रक्तचाप, चिनीरोग र अरु साधारण रोग जस्तै हो’ श्रेष्ठले भनिन्–‘तर समयमै रोग पत्ता लगाएर उपचार गराउन सकिएन भने मानिसहरु झाडापखाला, साधारण ज्वरो, निमोनिया र रुघाखोकी विग्रेर पनि ज्यान गुमाएको सबैले देखेका छन् ।’

‘समयमै क्यान्सरको उपचार गरी पुनर्जीवन पाएकाहरु नेपालमा धेरै छन, तर तिनीहरु आफूलाई कुनैबेला क्यान्सर लागेको थियो भनेर भन्न पनि चाहँदैनन, जसका कारण अहिलेसम्म क्यान्सरमात्रै ठूलो रोग हो कि भन्ने गलत सन्देश समाजमा गइराखेको छ’— कार्यक्रम संयोजक श्रेष्ठले बताइन् । ‘त्यसैले क्यान्सर निको भएकाहरुलाई अगाडि ल्याएर उनीहरुमार्फत क्यान्सर अरुजस्तै सामान्य रोग हो, नियमित उपचार गरे क्यान्सर निको हुने मात्रै हैन, क्यान्सरपछि पनि जीवन छ भनेर हामीले सन्देश फैलाउन खोजेका हौं’—उनले बताइन् । क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन भनेर सन्देश दिनु नै यो शोको मुख्य उद्देश्य हो । धेरैले यो रोग निको भइसकेपछि पनि लुकाएर बसेका हुन्छन् । 

‘¥याम्प शो’को तयारीमा जुटेका सहभागीहरु पनि आफूलाई कुनैबेला क्यान्सर लागेको थियो भनेर भन्न पटक्कै हिच्किचाँउदैनन, उनीहरु खुलेर भनिराखेका छन—‘हो हामीलाई क्यान्सर लागेको थियो निको भइसक्यो ।’ समाजमा क्यान्सरमात्रै ठुलो रोग हो भन्ने भ्रमका कारण आफुलाई क्यान्सर भएको बेलामा आफुले ठूलो पीडा, तनाव र आर्थिक समस्या खेप्न परेको अनुभव सुनाउँदै ¥याम्पका सहभागी भन्छन, ‘अबका दिनमा यस्तो गलत धारणा र भ्रमका कारण क्यान्सर लागेका अरु विरामीहरुले तनाव लिन नपरोस भन्ने हाम्रो प्रयास हो ।’

नेपालमै पहिलोपटक गर्न लागेको सन्देशमूलक ¥याम्प शो को सहआयोजक नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले समयमै रोग पत्ता लागेर उपचार भएमा सबै प्रकारको क्यान्सरको उपचार नेपालमै हुने बताए । विगतमा जस्तो क्यान्सर रोगको उपचारको लागि कुनैपनि नेपाली विदेश जानु नपर्ने गरि ‘नेपालीको क्यानसर उपचार नेपालमै संभव छ’ भन्ने मुल उद्देश्यका साथ सबैथरी क्यान्सरको निदान र उपचारको लागि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि सक्रिय रहेको डा.श्रेष्ठले बताए । 

साहसी सपनाको संघर्ष 
काठमाडौं । पीडामा पिल्सिए पनि साहसको सपना पाल्दै संघर्ष गरिरहेकी सपना रानामगरको कथा कुनै सपना भन्दा कम छैन । क्यान्सर जस्तो डरलाग्दो रोगबाट मुक्ति पाउँदाको मुस्कान मुहारमा देखिए पनि अन्तरआत्मामा नाबालक छोरो गुमाउँदाको पीडा दबिएकै छ । 

माइती घर धरान भएकी सपनाको घर सिन्धुली हो । उनी अहिले काठमाडौंमा पार्लर खोलेर आफूलाई व्यस्त बनाउँदै पीडा भुल्ने कोसिशमा छिन् । ¥याम्पमा उत्रिने जाँगरका साथ आफूजस्तै साथीहरुसँग प्रशिक्षणमा जुटेकी सपनाले एक भेटमा आफ्नो जीवन संघर्षका कथा यसरी सुनाइन्– ‘छोराको टाउकोबाट शुरु भएको सानो गिर्खा (क्यान्सर रोगको एउटा प्रारम्भिक लक्षण) बढ्दै कुमसम्म पुग्यो, उपचारका लागि कुनै कसर बाँकी राखिनँ । नेपालमा क्यान्सरको उपचारका लागि उपयुक्त अस्पताल नपाउँदा एक्लै दिल्ली पुगेर पनि सक्दो कोशिस गरेँ । दैवको लिला जीवन बचाउन सकिनँ ।’ उनले थपिन– ‘चार वर्षको उमेरमा देखिएको क्यान्सरसँग झण्डै तीन वर्षसम्म लड्यो छोराले । सायद समयमै उपचार नपाउँदा उस्ले जित्न सकेन क्यान्सरलाई ।’

छोरो गुमाउँदाको पीडा विस्तारै बिर्सिदै गर्दा पुनः त्यही रोग देखियो उनीमाथि । फरक थियो त केबल छोरालाई बोनम्यारो र उनलाई स्तन क्यान्सर । आफूलाई क्यान्सर भएको विषयमा शुरुमा उनी अनभिज्ञ थिइन । क्यान्सरको गिर्खा पलाउँदै गरेको समेत थाहा थिएन उनलाई । उनी सम्झिन्छिन्– ‘एक दिन साथीको पार्टीमा जान तयारी हुँदै गर्दा कपडा लगाउने बेला थाहा भयो त्यो गिर्खाबारे । छाम्दा गिर्खा लाग्थ्यो, तर दुख्दैनथ्यो । सामान्य होला, ठिक हुन्छ भन्दै पार्टीमा गएँ । मनमा अनेक तर्कहरु उब्जिए । कत्तिखेर चेकजाँच गर्ने भन्दै अर्को दिनको प्रतिक्षामा बसेँ । भोलिपल्ट ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगेँ– चेकजाँचका लागि । चेकजाँच पश्चात जे नसोचेको रिपोर्ट त्यही आयो– लक्षण क्यान्सरकै थियो ।’ त्यो बेला उनको रिपोर्ट हेर्दा क्यान्सरको पहिलो स्टज देखिएको थियो उनीमा ।
 

झन पीरको भारी थपियो, अस्पतालको निगरानीमा बस्नुपर्ने उनी रोग चाडो निको पार्ने मनसाय पालेर आयुर्वेदतर्फ धाइन् । उनी आयुर्वेद औषधालय जानुको अर्को कारण थियो–उनलाई गलत सुझाव र सल्लाह दिने एक साथी । ती साथीले उनको मानसपटलमा के गलत धारणा भरिदिइन् भने स्तन काटेर फ्याकेको मान्छे धेरै बाँच्दैनन् । आयुर्वेदमा जाउ ठिक हुन्छ । मृत्युसँग नडराउने सायदै नहोलान् । उनको मनमा पनि यस्तै कुरा खेलेपछि सोही सल्लाह बमोजिम उनी नयाँ बसपार्कस्थित एक आर्युवेद औषधालयमा पुगिन् । क्यान्सर अस्पतालबाट आएका फोन समेत रिसिभ गरिनन् । आयुर्वेदिक औषधिमा पैसा खर्च गरिन् झण्डै तीन–चार लाख । रोग निको हुनुको सट्टा झन बढ्दै गयो । 

पार नलाग्ने देखिपछि उनी पुनः उही पहिलेकै अस्पताल पुगिन– नेसनल क्यान्सर अस्पताल । दोस्रो पटक अस्पताल पुग्दा क्यान्सर दोस्रो स्टेजमा पुगिसेकेको परीक्षण रिपोर्टले देखायो । छाँगाबाट खसेजस्तै भयो । गलत सुझावका कारण रोजेको बाटोप्रति आत्म ग्लानी भयो । पहिलो पटकदेखि नै क्यान्सर अस्पतालको निगरानीमा बसेको भए सायद गिर्सा मात्र काटे हुन्थ्यो, तर अंग नै गुमाउनुपर्दैनथ्यो होला सायद । उपचारमा संलग्न डाक्टरले पनि यस्तै भनेपछि उनी प्रत्यक्ष अस्पतालको निगरानीमा तीन वर्षसम्म उपचार गरिन् । यो अवधिमा उनले चार पटकसम्म केमो थेरापी गरिन् । हिम्मत हारेकी छैनन् । साथमा रहेकी छोरीको साहारामा सपना बुनिरहेकी छिन् । उनी भन्छिन्– ‘क्यान्सरलाई जित्न सकिन्छ । साहस मात्र होइन समयमै उपचार गर्नुपर्छ ।’ 

No comments

Powered by Blogger.